धादिङ– आर्थिक वर्ष २०८२/०८३ मा १ सय १४ जनाले अनलाइन ठगीको उजुरी दिएका छन् ।
ह्वाट्सएपबाट ४५ जना, इसेवा/खल्तीबाट ४४ जना, टिकटकबाट १५ जना र फेसबुकबाट १० जना गरि २७ महिला, ८६ पुरुष र २ बालक गरि कुल ११४ जनाले ठगिएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १० महिला र १० पुरुष, आर्थिक वर्ष २०८१/८२ मा १८ महिला र १९ पुरुषले उजुरी दिएका थिए । सामाजिक सञ्जालको आधारमा ह्वाट्सएप र इसेवा/खल्तीबाट सबैभन्दा बढी साइबर अपराध भएको देखिएका छन् ।
‘साइबर अपराध प्रमाणित भएमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरी कारबाही अघि बढाइन्छ । ऐनअनुसार कसूरदारलाई ५ वर्षसम्म कैद, १ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । सजायको मात्रा अपराधको गम्भीरता, प्रमाण र अदालतको फैसलामा निर्भर गर्दछ’ उनले भने ।
पछिल्लो समय अनलाइन ठगीका घटनाहरु बढीरहेकाले सजक रहन सबैमा उनले आग्रह गरे । ‘दिनानुदिन ठगीका घटना बढी रहेको छ । हामी आफु र आफ्नो परिवारका साथै समुदायमा अनलाइन ठगीका बारेमा जनचेतनामूलक सन्देश फैलाउन आवश्यक छ’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
