काठमाडौं– गुरु पूर्णिमा, व्यास जयन्ती, २६औँ निवृत्त शिक्षक दिवस तथा नेपाल निवृत्त शिक्षक समाज धादिङको १२औँ स्थापना दिवसको अवसरमा धादिङमा शिक्षकहरुलाई सम्मान तथा ‘प्रज्ञा वर्तिका’ स्मारिका लोकार्पण गरिएको छ । नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङले एक कार्यक्रमको आयोजना गरि शिक्षकहरुलाई सम्मान तथा ‘प्रज्ञा वर्तिका’ स्मारिका लोकार्पण गरेको हो।
कार्यक्रममा ‘प्रज्ञा वर्तिका’ स्मारिकाको औपचारिक अनावरण गरिएको छ । सम्पादन मण्डलका सदस्य रमेश अधिकारीका अनुसार स्मारिकामा शिक्षक आन्दोलन, विज्ञान, साइबर सुरक्षा, धादिङका ऐतिहासिक स्थलहरूको परिचय, जिल्लाको समग्र चिनारी, साहित्यलगायत २० वटा विविध विषय समेटिएका छन् ।
स्मारिका प्रकाशनका लागि डाक्टर नवीनबन्धु पहाडी, रमेश अधिकारी, डाक्टर मोहन कडेल, शालिग्राम अर्याल तथा विष्णुप्रसाद रिजालले सम्पादन मण्डलमा रही योगदान पुर्याएका थिए । योगदानको उच्च कदर गर्दै उनीहरुलाई कार्यक्रममा सम्मान गरिएको हो ।
त्यसैगरी कार्यक्रममा जेष्ठ निवृत्त शिक्षक कमलराज कँडेल, संविधानसभा सदस्य तथा निवृत्त शिक्षक पुष्पविक्रम मल्ल र निवृत्त शिक्षक विष्णु भट्टराईलाई विशेष सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका पुष्पविक्रम मल्लले साहित्य समाज रूपान्तरणको महत्वपूर्ण माध्यम भएको बताएका छ्न् । ‘आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक आन्दोलनलाई सही दिशा दिन साहित्यको महत्वपूर्ण भूमिका रहेको थियो । शिक्षकहरूबाट सिर्जित ज्ञान, अनुसन्धान र साहित्यले समाजलाई सभ्य, सचेत र प्रगतिशील बनाउन उल्लेखनीय योगदान पुर्याउने छ’ उनले भने ।
कार्यक्रममा समाजका जिल्ला अध्यक्ष केशरीप्रसाद पन्त, संविधानसभा सदस्य तथा निवृत्त शिक्षक पुष्पविक्रम मल्ल, नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष गुणराज गौतम लगायतले निवृत्त शिक्षकहरूको ज्ञान, अनुभव र सिर्जनशीलतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्दै समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
