काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित जोखिमयुक्त कृष्णभीरमा सडक डाइभर्सन निर्माणको काम सुरु गरिएको छ । भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर भासिदा अवरुद्ध राजमार्ग खुलाउन वैकल्पिक मार्गका लागि शुक्रबारदेखि डाइभर्सनको काम थालिएको हो ।


पहिरो गएको स्थान भन्दा थोरै माथिबाट भित्ता काटी नयाँ ट्रयाक खोल्न थालिएको हो । डाइभर्सन निर्माणका लागि विहीबारदेखि झाडी तथा वनस्पति हटाउने र रुख काट्ने काम सुरु गरिएको मलेखु–मुग्लिन सडक आयोजना प्रमुख सजना अधिकारीले बताइन् । ‘शुक्रबारदेखि नयाँ ट्रयाक खन्न थालिएको छ । भित्तामा कस्तो चट्टान भेटिन्छ । त्यस अनुसार कामको प्रगति हुनेछ । सकभर चाँडै वैकल्पिक मार्ग खुलाउने प्रयासमा छौं’ उनले भनिन् ।
एम्बुलेन्स, दम्कल लगायत अत्यावश्यक सवारी साधनका लागि सकभर चाँडै वैकल्पिक मार्ग खुलाउन लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताइन् । ‘अहिले तत्कालका लागि भित्ता कटान गरि राजमार्ग खुलाउन लागिएको हो । यही मार्गलाई दीर्घकालिन रुपमा सञ्चालन गर्न सकिन्छ कि । खोलाबाटै उठाएर दीर्घकालिन रुपमा सञ्चालन गर्नु पर्छ अहिले नै भन्न सकिन्न’ उनले भनिन्– ‘अहिलेलाई इर्मजेन्सी सवारी खुलाउने पहिलो प्राथमिकता हो । विस्तारै साना तथा मालबाहक सवारी पनि खुलाउनेछौं ।’
त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भागबाट पहिरो खसेपछि पृथ्वी राजमार्ग (मुग्लिन–काठमाडौं सडक) पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरातर्फ आवतजावत प्रभावित भएका छन् । यात्रुहरुले वैकल्पिक मार्गहरु प्रयोग गरिरहेका छन् ।
सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरेर १५ दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी गरेको हो । यति नै दिनमा डाइभर्सनको काम सकिने भन्न नसकिएपनि एक सातादेखि १० दिन भित्रमा डाइभर्सन निर्माणको काम सकेर राजमार्ग सूचारु गर्न सकिने प्राविधिकहरुको भनाई छ ।

