धादिङ— नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले २६औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा मंगलबार धादिङबेसीमा “दिगो विकासमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
फोनिज धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को सहयोगमा धादिङमा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले पत्रकारहरू विकास र परिवर्तनको संवाहक रहेको बताएका छन् ।
‘विश्वसनीय र तथ्यपरक पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा पत्रकारहरुको भूमिका अतुलनिय रहेको छ । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता समाजको ऐना पनि हो’ उनले भने । कार्यक्रमकै अवसरमा आफु वडा अध्यक्ष भएर आइसकेपछि नीलकण्ठ वडा नम्बर १२ मा सेवा प्रवाह चुस्त तथा सहज बनाएको उनले बताए । उनले भने– ‘चाहे त्यो सिफारिस दिने कुरा होस् या सामाजिक सुरक्षा भत्ता । अपाङ्गता भएकाहरुका लागि कार्ड होस् या सशक्तिकरण कार्यक्रमदेखि विकास निर्माणका कार्यहरु होस् । हरेक क्षेत्रमा छिटो छरितोसँगै सुशासन कायम गरिएको छ ।’
नागरिकको चाहना र आवश्यकता अनुरुपनै काम गरेको उनले बताए । सिमित श्रोत र साधनमा पनि देखिने खालका थुप्रै कामहरु भएका छन् । उनले भने– ‘शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण लगायत हरेक क्षेत्रमा राम्रा कामहरु भएका छन् । वडाबासीको जीवनस्तर सुधार तथा समृद्धिका लागि तल्लिन रहेका छौं ।’
पत्रकारहरुकै कारण विकास तथा समृद्धिको क्षेत्रमा फड्को मारेका वडा अध्यक्ष भण्डारीले बताए । तर अझै पनि पत्रकारहरुले थुप्रै खालका सवालहरु उठाइदिन उनले आग्रह गरे । सांकोष तिप्लिङ सडक खण्ड राती तथा पानी परेको समयमा पिच गरेको आफैले देखेर पिच कमसल भएको बताउदा पनि नमानेको उदाहरण स्मरण गर्दै यस्ता क्षेत्रमा अझै दम्दारिलो साथ कलम चलाइदिने उनले आग्रह गर्दै दिगो विकासमा ठूलो योगदान पुग्ने बताए ।
त्यस्तै, फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले अनिजबाट फोनिज हुँदै २६औं वर्षसम्म आइपुग्दाको यात्रा, उतारचढाव, फोनिजका मुद्धा, धादिङमा पत्रकारिताको इतिहास लगायतका विषयमा स्पष्ट पारे । पत्रकारहरुलाई सक्षम बनाई पत्रकारितामा सिक्ने, टिक्ने र विक्ने वातारण बनाउन फोनिजले विभिन्न तालिम सञ्चालन गर्दै आएको उनले बताए ।
‘स्थापना दिवस फोनिजकर्मीहरुका लागि एउटा उत्सव पनि हो । यसले अन्य संघ संगठनहरुसँग सम्बन्ध विस्तारसँगै भावी रणनिति बनाउन पनि ठूलो सहयोग पुग्नेछ’ उनले भने ।
कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारितामा सत्य, निष्पक्षता र तथ्यको संरक्षणमार्फत समाजलाई दिगो विकासको बाटोमा अघि बढाउन सकिने धारणा राखेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप