रुसी सेनामा भर्ना भएका १४० जनाका आफन्तले दिए उद्धारका लागि आवेदन

  • २०८० माघ २७, शनिबार (५ महिना अघि)
  • ९० पटक पढिएको
रुसी सेनामा भर्ना भएका १४० जनाका आफन्तले दिए उद्धारका लागि आवेदन

काठमाडौं– रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन् ।

Advertisement

यसैगरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन ।

मन्त्रालयले हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभएपनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन् ।

त्यस्तै रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए । साथै उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए ।

मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारलाई अनुरोध गरेको छ ।

पछिल्लो समय रुस–युक्रेन युद्ध चर्किदै गएपछि र ‘रेडजोन’मा पठाउन थालेपछि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्तमार्फत उद्धारको याचना गर्ने गरेका छन् ।

यही वर्षको दसैंलगत्तै रुसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुःखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन् । सन् २०२२ फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच युद्ध जारी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट