काठमाडौं— करिब दुई सातासम्म कार्यालय सहयोगीकै भरमा चल्दै आएको धादिङको सिद्धलेक गाउँपालिका–४ बुङचुङस्थित बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा आजबाट स्वास्थ्यकर्मी सहितको सेवा सुचारु भएको छ ।
गत साउन २३ गतेदेखि अहेव सुवना घले विदामा गएपछि र साउन २९ गतेदेखि अनमी दिपा पराजुली विरामी भएर विदामा बसेपछि बुङचुङ सामुदायिक स्वास्थ्य इकाई स्वास्थ्यकर्मी विहिन बनेको थियो । स्वास्थ्यकर्मी नभएपनि कार्यालय सहयोगी कौशिला सिलवालको भरमा सञ्चालन हुदै आएको थियो । स्थानीयवासीहरूले सामान्य रोगको समेत उपचार गर्न पनि धादिङबेसी वा मलेखु धाउनुपर्ने बाध्यता भोग्नु परेको गुनासो गदै आएका थिए । सोहि विषयमा भदौ ११ गते बुधबार ‘नेपालपथ डटकम’ मा ‘दुई सातादेखि कार्यालय सहयोगीकै भरमा बुङचुङ सामुदायिक स्वास्थ्य इकाई’ भन्ने शिर्षकमा समाचार प्रशासन भएको थियो ।
स्वास्थ्य इकाईमा औषधि र स्वास्थ्यकर्मी दुवै नभएको गुनासो सर्वसाधारणले बारम्बार गर्दै आएका थिए । उपचार गर्न आएका विरामीहरु स्वास्थ्यकर्मी नपाएपछि निराश भएर फर्कनुपरेको बताएका थिए । यस्तै, घरआँगन नजिकै स्वास्थ्य इकाई देखिए पनि सेवा भने नपाइने सेवाग्राहीहरुको गुनासो थियो । दुई जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य इकाईमा पालैपालो विदा बस्नुपर्ने सेवाग्राहीले माग राखेका थिए । कार्यलय सहयोगीको भरमा स्वास्थ्य संस्था छाडेर हिड्ने स्वास्थ्यकर्मी र विदा दिने सरोकारवाला दुवै निकायको चरम लापारबाही रहेको भन्दै सेवाग्राहीले गुनासो गरेका थिए ।
स्थानीयहरुले राखेको मागहरु जायद रहेको भन्दै भदौ १२ गते विहीबारदेखि नै स्वास्थ्यकर्मीसहितको सेवा सुचारु गर्ने सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनु भए अनुसार नै आजबाट स्वास्थ्यकर्मीसहितको सेवा सुचारु भएको हो ।
दुई सातादेखि स्वास्थ्यकर्मीविहिन भएको बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा स्वास्थ्यकर्मी सहितको सेवा सुरु भएपछि सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् । सिद्धलेक गाउँपालिकाका वडा नम्बर १, ४, ५ र ६ का करिब एक हजार घरपरिवार यस इकाईबाट स्वास्थ्य सेवा लिदै आएको स्थानीयले जनाएको छ । बुङचुङ, खर्कगैरा, बैरेनी, फाकफुक, स्याखुटार, आपटार, काम्राङ, कत्लेडाँडा, माबिखोला फिस्टार, नयाबस्ती लगायतका बस्तीका बासिन्दा यसै इकाई मार्फत आधारभूत स्वास्थ्य सेवा लिने गरेका छन् ।
हाल बुङचुङ सामुदायिक स्वास्थ्य इकाई भाडाको घरमा सञ्चालन हुँदै आएको छ । संरचनागत समस्या समाधान नभएको र औषधि आपूर्ति समेत व्यवस्थित नभएको स्थानीयले बताएका छन् । स्वास्थ्यकर्मी तलब भत्ता लिईकनै कार्यालयमा अनुपस्थित रहँदा नागरिक मारमा परेको भन्दै उनीहरूले भविष्यमा यस किसिमको लापरबाही नदोहोर्याउन समेत माग गरेका छन् ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लामो समयसम्म लापरबाही हुनु नागरिकका लागि गम्भिर विषय हो । तर सेवाग्राहीको निरन्तर गुनासो र दबाबपछि अब स्वास्थ्य इकाईमा स्वास्थ्यकर्मी सहित सेवा सुचारु हुनु स्थानीयका लागि राहत मिलेको छ । यसले स्वास्थ्य सेवाप्रति पालिकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने प्रश्नलाई पनि पुनः स्मरण गराएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप