





























धादिङ– धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका रामबहादुर भण्डारीले देशको अवस्था र व्यवस्था परिवर्तन गर्ने शक्ति आफ्नै पार्टी भएको बताएका छन्।
२१ दलको एकताबाट नयाँ पार्टी, नयाँ चुनाव चिन्ह र नयाँ नेपालको परिकल्पनासहित नेपाली कम्युनिस्ट पार्टी अगाडि बढेको उनले बताए । त्रिपुरा सुन्दरी गाउँपालिकाका विभिन्न बस्तीहरूमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै भण्डारीले परिवर्तनको नेतृत्व गरेको शक्तिलाई नै जनताले मत दिनुपर्ने बताएका हुन् । “परिवर्तन हामीले ल्याएका हौँ। भोट अन्त कतै हाल्ने होइन, जसले अवस्था र व्यवस्था फेर्यो उसैलाई दिनुपर्छ,” उनले भने।
राम्रो काम गर्ने नै जनताको साँचो प्रतिनिधि हुने उल्लेख गर्दै उनले आफू जनताको काम गर्ने प्रतिबद्धतासहित घर–आँगनमा आएको बताए। “परिवर्तन चाहने र गर्ने शक्ति हामी नै हौँ, त्यसैले हामीलाई मतदान गर्नुहोस्,” उनले आग्रह गरे।
भण्डारीले राजनीतिक संघर्षका क्रममा आफूले मृत्युदण्ड र जेल सजायको सामना गरेको दाबी गर्दै राज्यतर्फबाट गोली प्रहार गरी मृत घोषणा गरिएको घटनासमेत स्मरण गर्दै जिउँदो सहितको उपनाम पाएको उनले बताए। साथै, आफ्ना दुई छोराहरू अझै बेपत्ता रहेपनि नेपाली जनताको आशा र भरोसा जीवित राख्दै काम गर्दै आएको उनले दाबी गरे।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
