धादिङबेसी जोड्ने वैकल्पिक सडक स्तरोन्नति गरिने

  • २०८३ भाद्र १५, सोमबार (३ घण्टा अघि)
  • १२ पटक पढिएको
धादिङबेसी जोड्ने वैकल्पिक सडक स्तरोन्नति गरिने

काठमाडौं– बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न सडक तथा पुलमा क्षति पुगेपछि धादिङमा यातायात सञ्चालनलाई सहज बनाउन वैकल्पिक सडक मार्ग निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङमा जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) को अध्यक्षतामा बसेको बैठकले जिल्लाका विभिन्न सडकको स्तरोन्नति तथा आकस्मिक मर्मतका साथै वैकल्पिक रुट सञ्चालन गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले परेवारटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मा संघीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय नुवाकोटले गर्ने निर्णय गरेको छ । त्यस्तै, धादिङबेँसी–सुनौलाबजार–भोर्ले –कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मतको काम प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय धादिङमार्फत अघि बढाउने निर्णय भएको छ ।

यसैगरी, धादिङबेँसी–भुलभुले–पातले –प्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोस्रेटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मतको काम सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमार्फत मिलाउने निर्णय गरिएको छ ।

बैठकले बाढीका कारण भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले सदरमुकाम जोड्ने सडकको पुल बगाएको तथा अन्य पुलहरूमा समेत क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै यातायात व्यवस्थापन तत्कालका लागि वैकल्पिक सडकमार्फत गर्नुपर्ने आवश्यकता औंल्याएको हो । यी सडकहरूलाई यातायात सञ्चालनका लागि अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ । साथै, धादिङबेँसी–टारीबेँसी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई समेत अस्थायी रुटका रूपमा कायम गर्ने निर्णय भएको छ ।

बाढी तथा पहिरोबाट सडक र पुलमा भएको क्षतिका कारण जिल्लाका विभिन्न क्षेत्रमा यातायात प्रभावित भइरहेका बेला बैठकको निर्णयले सदरमुकाम तथा जिल्लाका विभिन्न क्षेत्रबीचको यातायात सम्पर्कलाई वैकल्पिक मार्गबाट निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट