धादिङ– दशैं आयो, गाउँमा पिङ पनि हालिए । तर पहिले जस्तो पिङमा मच्चिने रमाइलो छैन । न पिङ खेल्नेको भीड छ, न गाउँभरिका मानिस भेला भएर सुखदुःख साट्ने चहलपहल । कतै पिङ रित्तै छन्, कतै साना बालबालिका झुलिरहेका देखिन्छन् । कुनै समय दशैंको आगमनसँगै गाउँमा छुट्टै रौनक थप्ने पिङ अहिले भने सुनसान जस्तै बनेका छन् ।


नीलकण्ठ नगरपालिका–८ का नारायणदत्त कोइरालालाई पुरानो दशैं सम्झिँदा अहिलेको अवस्था खल्लो लाग्छ । बाल्यकालमा गाउँभरिका मानिस एकै ठाउँमा भेला भएर पिङ खेल्दाको रमाइलो उनलाई अझै ताजै लाग्छ । त्यतिबेला लिङ्गे पिङ, काठे पिङ, रोटे पिङ लगायतका थुप्रै खालका पिङ हालिन्थ्यो । अहिले पनि गाउँमा पिङ नभएको भने होइन । उनको आफ्नै पसल अगाडी पिङ त । तर न त्यो भीड छ, न त्यो आत्मीयता ।
‘हामी सानो हुँदा साह्रै रमाइलो हुन्थ्यो । गाउँभरिकै मानिस जम्मा हुन्थे, पिङ खेल्थे । अहिले त चाडपर्वमा पनि रमाइलो छैन । को घर आयो, को कहाँ छ, के गर्दै छ भन्ने पनि थाहा हुँदैन,’ उनले भने– ‘साना बालबालिका पिङमा आए पनि युवाहरू देखिँदैनन् । पाँच वर्षको उमेरदेखि पिङ खेलेर हुर्कियौं । अहिले आफू पनि बूढो भइयो, कतै जान सकिँदैन ।’
नीलकण्ठ नगरपालिका–१२ सांकोषका ७८ वर्षीय पूर्णबहादुर श्रेष्ठको अनुभव पनि उस्तै छ । ‘कुनै समय दशैंमा पिङ खेल्नेको लट्टाचुँडी हुन्थ्यो । पिङ खेल्न आउनेको भीडले गाउँ नै उत्सवमय बन्थ्यो । अहिले भने मानिसहरू घरभित्रै मोबाइलमा झुम्मिन थालेका छन्’ उनले भने– ‘पहिले यातायातको सुविधा थिएन । आफन्त कहाँ पुग्न पनि गाह्रो हुन्थ्यो । दशैं–तिहारमा मात्रै भेटघाट हुन्थ्यो, त्यसैले पनि चाडपर्वको खुबै महत्व थियो । अहिले छिनभरमै आफन्त कहाँ पुग्न सकिन्छ । तर बसेर सुखदुःखका कुरा गर्ने फुर्सद कसैलाई छैन ।’
‘पहिले मिठो खान र राम्रो लाउन दशैं कुर्नु पर्थ्यो । अहिले वर्षभरि नै मन लागेको खाने, लगाउने सुविधा छ । यसले पनि दशैंको प्रतीक्षा र उत्साह पहिले जस्तो छैन । गाउँमा पिङ हाल्ने चलनसमेत घट्दै गएको छ । कतैकतै हालिएका पिङमा पनि बिहान–बेलुका केही बालबालिका र बाटो हिँड्नेहरू बाहेक अरू भेटिदैनन्’ उनले भने ।
यस वर्ष धादिङका केही गाउँमा बाढीपहिरो र सडक अवरोधले पनि दशैंको रौनक घटाएको छ । फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक बाटोको सास्ती खेप्नुपर्ने भएकाले कतिपय आफन्त गाउँ फर्किन सकेनन् । गाउँ आएकाहरू पनि टीका लगाएर चाँडै फर्कने हतारोमा छन् । यस्तो अवस्थामा पिङ हाल्ने र सामूहिक रूपमा रमाइलो गर्ने कुराले प्राथमिकता पाउन सकेको छैन ।
नेत्रावती डबजोङ गाउँपालिका–५ का मानसिंह तामाङ भन्छन्– ‘पहिले टोलटोलमा पिङ हाल्ने चलन थियो । अहिले मनोरञ्जनका विकल्प बढेका छन् । मोबाइल, सामाजिक सञ्जाल र अन्य गतिविधिमा मानिसको रुचि बढ्दा परम्परागत पिङ ओझेलमा पर्यो ।’
‘पहिले टोलटोलमा पिङ हालिन्थ्यो । अहिले रमाइलो गर्ने अरू धेरै विकल्प छन् । पिङ छायामा परेको छ । यस्तै हुँदै जाने हो भने हाम्रा पुराना परम्परा इतिहासमै सीमित हुने अवस्था आउन सक्छ’ उनले भने ।
गाउँका युवाहरू रोजगारी र अवसरको खोजीमा विदेश पलायन भएका छन् । युवा पुस्ताले आफ्ना मौलिक रीतिरिवाज, चालचलन, कला र संस्कृतिको संरक्षणमा चासो दिन नसकेको ज्वालामूखी गाउँपालिका– ६ का सुन्तली मायाँ वाँडा बताउँछिन् । पिङ त एउटा उदाहरण मात्रै हो, हाम्रो कला संस्कृतिको जगेर्णा गर्न सकिएन भने इतिहासमै सिमित हुन्छ । गाउँमा न युवाहरु छन्, न युवा पुस्तालाई गाउँमै राख्ने वातावरण बनेको छ । उनले भनिन्– ‘चाडपर्वको रौनक छैन । आफन्तहरुसँग भेटघाट, सुखदुखका कुराकानी पातलिएका छन् । आत्मियता र आफ्नोपन नै देखिदैन । दशैंमा पिङ खेल्नु केवल मनोरञ्जन थिएन, यो गाउँलेलाई जोड्ने एउटा बहाना पनि थियो । पिङको डोरीसँगै सम्बन्धहरू कसिन्थे, भेटघाट हुन्थ्यो र पुस्तान्तरण हुँदै आएको संस्कृति जीवन्त बन्थ्यो । अहिले पिङ त हालिन्छन्, तर तिनमा झुल्ने उत्साह र वरिपरि जुट्ने मानिसको संख्या घट्दै गएको छ । ’
दशैंको रौनक फर्काउन पिङ हाल्नु मात्रै पर्याप्त छैन । त्यसमा झुल्ने पुस्तालाई गाउँमै जोड्ने, भेटघाट र सामूहिक उत्सवको संस्कृति जोगाउने प्रयास पनि आवश्यक छ । पिङ रित्तिनु केवल एउटा खेल हराउँदै जानु मात्र होइन, गाउँको सामूहिक जीवन, आत्मीयता, कला संस्कृति लोप हुँदै जानु पनि हो । त्यसैले, रितिरीवाज, परम्परा कला, संस्कृति जोगाउन युवा पुस्ताले चासो दिन आवश्यक छ ।
#पिङ

