धादिङको दिगो विकास र समृद्धिको क्षेत्रमा युवाहरु एकजुट भएर लागेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा छलफल कार्यक्रमको आयोजना गरि युवाको क्षमता, सिर्जनशिलता र नेतृत्वलाई सरकारसँग जोड्दै धादिङको विकास र समृद्धिका आधारहरु तय गर्नुपर्नेमा जोड दिएका हुन् ।


ग्रामिणमूखी युवा अभियान (रोयम नेपाल), रोट्याक्ट क्लव अफ धादिङ, परिवर्तन जिल्ला युवा महिला संजाल धादिङ, युवा मानव अधिकार रक्षक संजाल धादिङ र ग्लोवल नेपालको संयुक्त आयोजना, नीलकण्ठ नगरपालिकाको सहकार्य र AEIN को सहयोगमा भएको Dhading youth cafe २०२६ कार्यक्रममा ‘धादिङ युवा घोषणापत्र २०२६ ’ जारी गर्दै उनीहरुले आफ्ना माग तथा प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘खुलेर कुरा गरौं, मिलेर परिवर्तन गरौं’ भन्ने मूलमर्मका साथ घोषणापत्र सार्वजनिक गरिएको हो ।
युवाहरूले स्थानीय रोजगारी सिर्जना, वित्तीय पहुँच, कृषि, पर्यटन, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रमा युवा उद्यम प्रवद्र्धन, व्यावसायिक शिक्षा, सुरक्षित, सीपयुक्त र मर्यादित वैदेशिक रोजगारी तथा फर्किएका आप्रवासी युवाको सीप, पुँजी र अनुभवलाई स्थानीय उत्पादनमा प्रयोग गर्ने नीति ल्याउन माग गरेका छन् ।
महिलाको नेतृत्व, रोजगारी, दलित तथा जनजाति, अपाङ्गता भएका र आर्थिक रूपमा कमजोर युवाका कार्यक्रम, स्थानीय तहमा ‘युथ इन्फर्मेसन/रिसोर्स सेन्टर’ स्थापना, डिजिटल साक्षरता, कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल उद्यमशीलतामा युवाको पहुँच, जीवनोपयोगी सीप, खेलकुद, कला, संस्कृति तथा सिर्जनशील उद्योगमा युवाको लगानी जस्ता घोषणापत्रमार्फत माग गरेका हुन् ।
नेपालको कुल जनसंख्याको ४०.७० प्रतिशत युवा रहेकोले युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई स्थानीय विकाससँग जोड्न संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, नागरिक समाज तथा विकास साझेदारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनीहरुले बताएका छन् ।
घोषणापत्र मार्फत युवाहरुले धादिङको विकासका लागि प्रतिवद्धता समेत व्यक्त गरेका छन् । युवाहरूले सामाजिक सद्भाव, समानता र समावेशिताका लागि सक्रिय भूमिका निर्वाह गर्ने, अधिकारसँगै आफ्नो जिम्मेवारी र कर्तव्यप्रति सचेत रहने तथा स्थानीय विकास र सामाजिक परिवर्तनका अभियानमा स्वयंसेवी रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
युवाका साझा सवालमा स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य गर्ने र युवाको आवाजलाई संगठित, रचनात्मक तथा तथ्यमा आधारित रूपमा सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाइएको छ ।
त्यसैगरी, धादिङका युवाले संघ, प्रदेश र स्थानीय सरकारलाई युवालाई ‘लक्षित समूह’ मात्र नभई ‘विकासका साझेदार र नेतृत्वकर्ता’ का रूपमा स्वीकार गर्न आह्वान गरेका छन् । घोषणापत्रमा उल्लेखित माग तथा प्रतिबद्धतालाई सरकारका नीति, योजना, बजेट तथा कार्यक्रमसँग जोड्दै कार्यान्वयनका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उनीहरुले बताएका छन् ।
त्यसैगरी, धादिङ युथ भिजन २०३० पुस्तकको नुमना सार्वजनिक गरिएको छ । पुस्तकमा युवा रोगजारी तथा उद्यमशिलता, शिक्षा तथा सिप विकास, डिजिटल अवसर, युवा नेतृत्व तथा सहभागिता, लैङ्गिक तथा समावेशिता, समावेशी र दिगो स्थानीय विकास जस्ता मूख्य विषयवस्तु समेटिएका छन् । २०३० सम्म युवाको यस्ता क्षेत्रमा निकै परिवर्तन हुने अपेक्षा गरिएको छ ।
छलफल कार्यक्रमको सम्बोधन गर्दै जिल्ला समन्य समिति धादिङका उप प्रमुख कुलमान विकले युवा देश विकासको मेरुदण्ड रहेको बताए । ‘युवा विना देश विकास सम्भव छैन । तर युवा शक्तिलाई देशमै रोजगारीको सुनिश्चितता ठूलो चुनौति बनेको छ । सबै एकजुट भएर देश विकासमा लाग्ने हो भने असंभव हुदैन’ उनले भने ।
त्यसैगरी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले नगरपालिकाले युवालाई मूख्य केन्दमा राखेर निति तथा कार्यक्रम र बजेट ल्याउने गरेको बताए । उने भने– ‘विकास र समृद्धिको क्षेत्रमा युवाले चासो दिनु निकै सकरात्मक छ । स्थानीय सरकारले पनि युवालाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । हामी युवाहरुसँग साझेदार गर्दै धादिङको विकास र समृद्धिको यात्रा तय गर्न चाहन्छौं ।’
युवाको क्षेत्रमा काम गर्दै आएको रोयम नेपालले महिला, दलित तथा अपाङ्गता भएका र युवाहरुको क्षेत्रमा काम गर्दै आएको छ । धादिङ युवा घोषणा पत्रले धादिङको विकास तथा समृद्धिमा फड्को मार्ने रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धितालले बताए ।

