काठमाडौं– धादिङको गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड ६३ लाख ३ हजार ८ सय ६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष शर्मिला बिसुरालले आगामी आर्थिक वर्षको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार सिर्जना, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको उनले बताए ।
सार्वजनिक गरिएको बजेटले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आर्थिक तथा सामाजिक विकासलाई गति दिने र नागरिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए ।
गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल गरिएको थियो। जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागितामा भएको छलफलपछि नीति, कार्यक्रम र बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ।
यसै अवसरमा गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ। सर्वोत्कृष्ट कर्मचारी पुरस्कार शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्तोष पौडेललाई प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारी पुरस्कार योजना शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर रविना श्रेष्ठलाई प्रदान गरिएको छ।
गाउँपालिकाले कर्मचारीहरूको कार्यसम्पादन, जिम्मेवारी निर्वाह तथा संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ। सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि सेवामुखी र प्रभावकारी कार्यसम्पादनको अपेक्षा गरिएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटले पूर्वाधार निर्माण, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, रोजगारी प्रवर्द्धन र सुशासनमार्फत समग्र स्थानीय विकासलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।

