काठमाडौं- तिब्बतबाट आएको बाढीका कारण धादिङका विभिन्न पालिकाबाट एक सय १४ जना सम्पर्कबिहीन भएका छन् । धादिङबेसीबाट गोसाइँकुण्ड गएका २६ जना र अन्य ८८ जना गरि एक सय १४ जना सम्पर्कबिहीन बनेका हुन् ।


रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २६ जना तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका हुन् । धादिङबेँसीबाट तीर्थयात्री बोकेर रसुवातर्फ गएको बा ५ ख १२५० नम्बरको बस र नीलकण्ठ नगरपालिका–१२ का चालक छविलाल श्रेष्ठसहित २६ यात्रुहरू नुवाकोटको बेत्रावती पुगेपछि सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहिन हुनेहरुमा नीलकण्ठ १२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल, नीलकण्ठ–९ का राम लम्साल, जानुका लम्साल, कृष्ण प्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायण प्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल, न्याउरी लम्साल, सिद्धलेक १ का सिद्धलेक–१ का हरि प्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट, कल्पना भट्ट, नीलकण्ठ–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना रहेका छन् ।
सम्पर्क विहिन हुनेहरुमा नीलकण्ठ नगरपालिकाका २३ जना, धुनीबेशी नगरपालिकाका १३ जना, थाक्रे गाउँपालिकाका २३ जना, गल्छी गाउँपालिकाका ७ जना, गजुरी गाउँपालिकाका ५ जना, बेनीघाट रोराङ गाउँपालिकाका ७ जना, सिद्धलेक गाउँपालिकाका ६ जना, ज्वालामुखी गाउँपालिकाका १ जना त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना, गङ्गाजुमना गाउँपालिकाका १ जना, खनियाँबास गाउँपालिकाका ८ जना, रुवीभ्याली गाउँपालिकाका १३ जना, नेत्रावती डवजोङ गाउँपालिकाका १३ जना गरी एक सय १४ जना सम्पर्कविहीन रहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय(गौतम) ले जानकारी दिइन् ।
सम्पर्क विहिन हुनेहरुमा तिर्थयात्रा गएका, जागिरको शिलशिलामा रहेका, आन्तरिक पर्यटक तथा गाइड, सवारी चालक रहेका छन् ।

