अविस्मरणीय इतिहास बोकेको तत्कालिन नेकपा मालेको पहिलो जिल्ला अधिवेशन

  • नेपाल पथ
  • २०८० माघ १८, बिहिबार (५ महिना अघि)
  • ९५९ पटक पढिएको
अविस्मरणीय इतिहास बोकेको तत्कालिन नेकपा मालेको पहिलो जिल्ला अधिवेशन

काठमाडौं-  वि.सं २००६ सालमा केवलपुरे किसानको अगुवाईमा केवलपुरमा १३ जना ब्राह्मणहरुले हलो जोतेर प्रगतिशील विचारको विजारोपण गरेर बाम आन्दोलनको विजारोपण भएको हो । २००८ सालमा अखिल नेपाल किसान संघको गठन गरी किसानहरुको मुद्धालाई उठाउने काम भएको थियो । वि.सं २००८ देखि किसान, उत्पीडित, मजदुर वर्गको उत्थानका लागि आवाज उठाउन शुरु गरियो । यस संगै विद्यालयहरुमा पुस्तकालय संचालन गर्ने, साहित्यिक सांस्कृतिक तवरले प्रगतिशील विचारहरुको प्रचारप्रसार गर्ने कामहरु निरन्तर भयो ।

Advertisement

बनरसबाट पार्टी संगठनको सम्पर्कमा आएर जिल्लामा पार्टी काममा आउनु भएका क जगन्नाथ नेपालको नेतृत्वमा भीमप्रकाश ओझा र बलराम ढुंगाानाको आवाद्धता सहित २०३५ साल चैततिर धादिङको पूर्विभेगीय एरिया पार्टी सक्रिय दल ९ब्एब्न्० गठन भयो । यसलाई नै धादिङ जिल्लामा तत्कालीन नेकपा मालेको संगठन शुरुवातको इतिहास मान्न सकिन्छ ।
वि सं २०३६ भदौ १९ गते मलेखु स्थित मिनराज कंडेलको घरमा क्रान्तिकारी शिक्षक संघको गठन मिनराज कंडेलको अध्यक्षतामा गरियो । मिनराज कंडेलको अध्यक्षमा गठन गरिएको शिक्षक संघको सचिवमा हेरम्बराज सिलवाल, सदस्यहरुमा कमलराज कंडेल, विश्वनाथ त्रिपाठी रहनुभएको थियो । तत्कालिन अवस्थामा पार्टी कामलाई सहज र गोप्यताका साथ अगाडी बढाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण थियो ।

२०३६ साल कार्तिकमा ५ सदस्यीय जिल्ला पार्टी सक्रिय दल गठनले सांगठनिक विकासको आधार तयार गर्यो । राजेन्द्र पाण्डे सचिव, जगन्नाथ नेपाल, गुरु प्रसाद बुर्लाकोटी , टंकनाथ शर्मा तिमल्सीना र भीम प्रकाश ओझा आवद्ध सो कमिटीले पार्र्टीको भूमिगत विभिन्न गतिविधिहरु संचालन गर्यो । यसकै कारण २०३८ साल पुषमा शिक्षक संगठनको चुनाव भइ राजेन्द्र प्रसाद पाण्डेले नेतृत्व गरेको समुह विजयी भयो ।

२०३६ सालदेखि २०४१ सालसम्म पार्टीको गतिविधि केही निष्क्रिय भएको तत्कालिन पार्र्टी कार्यकर्ताहरु बताउनुहुन्छ । २०४१ सालमा शुरेस कार्की, राजेन्द्र प्रसाद पाण्डे र जगन्नाथ नेपाललाई पार्टी कमिटीलाई सक्रिय बनाउन जिम्मा दिइयो । २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा भाग लिने निर्णय गरि राजेन्द्र प्रसाद पाण्डेलाई जनपक्षिय उम्मेदवारको रुपमा उठाइएको थियो । हात्ति चुनाव चिन्ह लिएर उठेका पाण्डे झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

२०४३ साल असार ३१ गते तत्कालीन कल्लेरी गाविस स्थित जगन्नाथ नेपालको घरमा भएको भेलाबाट सचिवमा सुरेश कार्की, सदस्यहरुमा जगन्नाथ नेपाल, मिनराज कंडेल, उत्तम कंडेल रहेको पार्टी कमिटिको पुर्नगठन भयो । पुर्नगठन हुनु अगाडी मिनराज कंडेल र उत्तम कंडेललाई पार्टी सदस्यताको सपथ ग्रहण गराउनुभएको थियो । त्यतिखेर राजेन्द्र प्रसाद पाण्डेलाई राष्ट्रिय पञ्चायत उम्मेदवार भएकाले पार्र्टीको जिल्ला संगठन कमिटिमा नराख्ने भनिएकोले राखिएन । पछि २०४३ को कार्तिक महिनामा बसेको जिल्ला संगठन कमिटिको बैठकले केन्द्रिय निर्देशन बमोजिम पाण्डेलाई जिल्ला संगठन कमिटिमा राखियो । सोहि कमिटीले २०४४ को गाउँ पञ्चायत र जिल्ला पञ्चायत निर्वाचनलाई उपयोग गर्ने रणनीति लिइयो ।

२०४३ सालको चैतमा भएको गाउँ पञ्चायतको निर्वाचनमा नेकपा मालेको तर्फबाट जनपक्षिय उम्मेदवारलाई उठाएको थियो । धुषा गाउँ पञ्चायतमा रणबहादुर थापाले जित्नुभएको थियो । महादेवस्थान गाउँ पञ्चायतमा राम बहादुर रावल, जोगिमारामा टंक बहादुर मल्ल, बेनिघाटमा गिरीराज कंडेल, गजुरीमा गोपाल मगर, सलाङमा खिन बहादुर थापा, कल्लेरीमा परशुराम नेपाल, छत्रेदेउरालीमा कृष्णदास श्रेष्ठ, नलाङमा कृष्ण अर्याल, चैनपुरमा खेम बहादुर पाठक, मुरलीभञ्ज्याङ जित बहादुर ढुंगाना, साङकोषमा थानेश्वर सापकोटा, बैरेनीमा कृष्ण प्रसाद अधिकारीलाई जनपक्षिय उमेदवार उठाइएको थियो । जसमा केही गाउँ पञ्चायतमा जित भएको थियो ।

२०४४ बैशाखमा भएको जिल्ला पञ्चायतको निर्वाचनमा जिल्ला सभापतिमा राजेन्द्र प्रसाद पाण्डे र उपसभापतिमा खेम प्रसाद लोहनीलाई उठाइएकोमा राजेन्द्र प्रसाद पाण्डे सभापतिमा विजयी हुनुभएको थियो । जिल्ला पञ्चायत निर्वाचनमा गाउँ सभा सदस्यहरुले भोट हाल्ने व्यवस्था थियो । तत्कालिन जटिल परिस्थितीमा पनि नेकपा माले जनताको घर घरमा पुगेको थियो । उपसभापति भने पराजित हुनुभयो ।

यसरी सक्रिय भएको नेकपा मालेको पहिलो अधिवेशन २०४५ असोज ५ र ६ गते धुषा गाउँ पञ्चायत वडा ७ को एक पार्टी कार्यकर्ताको घरमा भएको थियो । उक्त प्रथम सम्मेलनमा ८ जना पार्टी पूर्ण सदस्य सहभागी हुनुभएको थियो । जसमा शुरेश कार्की, जगन्नाथ नेपाल, राजेन्द्र प्रसाद पाण्डे, गुरु प्रसाद बुर्लाकोटी, नरनाथ लुइँटेल, उत्तम कंडेल, चुडामणी कंडेल, मिनराज कंडेल, हुनुहुन्थ्यो । उम्मेदवार सदस्यको रुपमा जगन्नाथ शर्मा तिमल्सिना, राम प्रसाद अधिकारी, देव प्रसाद त्रिपाठी, षडानन्द कंडेल, खेम लोहनी, कृष्ण ढकाल, ध्रुव खतिवडा र गंगालाल तुलाधर सहभागी हुनुभएको थियो ।

उक्त सम्मेलनमा नेकपा माले मध्य उत्तर क्षेत्रिय कमिटीका सचिव कमरेड रञ्जन (माधव नेपाल) प्रमुख अतिथिको रुपमा सहभागी हुनुभै पार्टीको समसामयिक र सांगठनिक विषयमा प्रशिक्षण दिनुभएको थियो । अतिथिहरुमा सोही कमिटीका कमरेड विज्ञान (केशव बडाल), कमरेड हिम्मत (युवराज कार्की), कमरेड महत्तो (शुरेश कार्की), कमरेड माधव पौडेल सहभागी हुनुभएको थियो ।
जर्जर पञ्चायती व्यवस्थाको कारण पञ्चायति व्यवस्थाको विरुद्ध बोल्ने लेख्नेलाई पूर्ण प्रतिबन्ध लगाइएको थियो । कुनै पनि सभा सम्मेलन गर्न प्रतिबन्धित थियो । कम्युनिष्ट हुँ वा प्रगतिशील विचार धाराको हुँ भनेर भन्न पाइँदैन थियो । यस्तो जटिल र कठिन परिस्थितिमा बाम आन्दोलनका योद्धाहरुले रातभर पार्टी कार्यकर्ता र शुभेच्छुकको घरमा लुकेर बैठक, भेला, सभा गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जाँदा भेष बदल्नुपर्ने, रातीमात्रै हिड्नुपर्ने अवस्था थियो ।
बत्ति नबालिकन रातभर हिडेर पार्टी संगठनको काम गरेको सम्झना गर्नुहुन्छ, पहिलो सम्मेलनमा सहभागी हुनुभएका मिनराज कंडेल । तत्कालिन अवस्थामा भारतको बनारस पुगेर पार्टीका नेताहरुलाई कार्यक्रममा सहभागी गराउन ल्याउँदा आफ्नो भेष बदलेर लुक्दै आइपुगेको स्मरण गर्नुहुन्छ कमरेड जगन्नाथ नेपाल । प्रजातन्त्रको पुनस्र्थापना पछिको पहिलो आम निर्वाचन र नेकपा एमाले र माक्र्सवादी वीचको एकताले कम्युनिष्ट आन्दोलनलाई एकिकृत रुपमा नयाँ उचाईमा पु¥यायो । जनताको बहुदलीय जनवादको आलोकमा नेकपा एमालेले प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गर्दे आजको दिनसम्म आइपुगेको हो ।

हिजोका सयौं लिखित र अलिखित अग्रजहरुको अथक मेहनत, परिश्रम र योगदानले नै आज धादिङ जिल्ला लाल किल्ला भन्ने नारा सावित भएको हो । २०४७ साल पुष २२ गते नेकपा माले र माक्सवादी मिलेर बनेको नेकपा एमाले पार्टीको यही माघ १९ र २० गते ९ औं जिल्ला अधिवेशन हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%१%१%२%

खोजी गर्नुहोस

ताजा अपडेट